
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटि दैलेखले शुक्रवार दैलेखमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अनेरास्ववियूले ७१ औं प्रजातन्त्र दिवसको ऐतिहासिक अबसर पारेर जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
जिल्ला सदरमुकाम दैलेख बजारको स्थानीय देवकोटा चोकमा आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) केन्द्रिय सचिवालय सदस्य नविन योगीले जानकारी दिए । रक्तदानमा १५ पिन्ट रगत संकलन भएको योगीले जानकारी दिए ।
जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरे पनि भण्डारका लागि संकलित सबै रगत सुर्खेतमा पठाउनुपर्ने बाध्यता छ । जिल्लामा ब्लड बैंक स्थापना हुन नसक्दा भएको रगत सुर्खेत पठाउनुपर्छ । पहाडी जिल्ला दैलेखमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोगिरहेका छन् ।
जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नहुँदा अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ ।