
राजनीतिक माहोल बिग्रदै गइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई आज पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं.२ का प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
‘न्यायका लागि अदालत जान्छु’
प्रदेश २ को प्रमुखबाट बर्खास्त भएका निवर्तमान प्रदेश प्रमुख तिलक परियारले न्यायका लागि अदालत जाने बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सरकारको यस निर्णयबाट म आफैँ दङ्ग परेको छु, न कुनै जानकारी, न कुनै स्पष्टीकरण । संवैधानिक पदमा बसेका व्यक्तिलाई एक्कासी बर्खास्त यो गलत नजिरको सुरुवात हो ।’
उनले आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै आफ्नो बर्खास्तीलाई दलित समूदायमाथिको आक्रमण पनि भनेका छन् । ‘यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समूदाय माथिको आक्रमण हो । काठमाडौँ फर्केपछि न्यायका लागि अब अदालत जानेछु’ उनले भने ।
उनले आफूलाई शंका र उपशंकाको भरमा पदमुक्त गरेको पनि बताए । ‘म निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आइरहेको थिए न कुनै गुट उपगुटमा लागेको थिए, तर शंका उपशंकाको भरमा मलाई पदमुक्त गर्नु गलत हो’ उनले भने । परियारले आफूले गलत काम गरेको भए राष्ट्रपतिले स्पष्टीकरण सोध्ने व्यवस्था रहेको भन्दै त्यसाे नगरिएको प्रति आपत्ति जनाए ।
‘म बाट कुनै गलत वा विवादित काम भएको छ भने राष्ट्रपतिले स्पष्टीकरण लिन सक्थ्यो,’ उनले भने, ‘तर, त्यस्तो नगरेर दलित भएको वा कर्मचारीबीचको अडियो प्रकरणले पदमुक्त गर्नु गलत हो म कानूनी उपचार खोज्छु ।’
पूर्वमाओवादी भएकै कारण हटाउनु गलत भएको उनको भनाइ छ । ‘आशंकाको भरमा पूर्व माओवादीबाट आएको हो फलानो गुटको होला भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो दूर्भाग्यपुर्ण हो,’ उनले भने, ‘पदमुक्त गर्न तथ्य र प्रमाण आवश्यक छ जुन यो सरकारसँग छैन ।’