
पप गायिका रिहाना भारतमा फेरि विवादमा फसेकी छिन्। उनले भगवान गणेशको पेन्डेन्ट लगाएर फोटोसुट गरेको तस्विर सार्वजनिक भएसँगै उनको विरोध भएको हो। उनको उक्त तस्विरको भारतमा विरोध भइरहेको छ। केहीले भने उनको टपलेस तस्विरलाई विवादित बनाउनुपर्ने कुनै कारण नभएको बताइरहेका छन्।
यस विषयलाई लिएर विश्व हिन्दू परिषदले दिल्ली र मुम्बई पुलिसमा ट्विटर विरुद्ध उजुरी समेत गरेको छ।

विश्व हिन्दू परिषदका राष्ट्रिय प्रवक्ता विनोद बंसलले ट्विटर र फेसबुक जस्ता सामाजिक संजाल हिन्दु विरोधी गतिविधिका लागि माध्यम बनेको आरोप लगाएका छन्। हिन्दूको भावनालाई चोट पुर्याउने ट्विटर र फेसबुकलाई हालसम्म कुनै कारवाही नभएको उनले बताए।
उनीहरुले रिहानाको ट्विटर एकाउन्ट बन्द गर्न समेत माग गरेका छन्। रिहानाले केही समयअघि ट्विटरबाट भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरेकी थिइन। किसान आन्दोलनको समर्थन गरेकोमा पनि उनको आलोचना भएको थियो।