
गुणस्तरहिन काम भएको पाइएपछि भत्काएर पुःननिर्माण गर्न निर्देशन
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहिन भएको भन्दै सच्याउन लगाइएको छ । स्वास्थ्यचौकीको निर्माणाधिन भवनको पिपिसि ढलानको काम गुणस्तरहिन भएको भन्दै गाउँपालिकाले भत्काएर पुःननिर्माण सुरु गर्न निर्देशन दिएको छ ।
स्वास्थ्यचौकीको भवन निर्माणकाक्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल खालको गिटी र बालुवा प्रयोग गरिएको, सोलिङमाथि गरिएको पिसिसि ढलानलाई क्यूरिङ (पानीले भिजाउने काम) नभएकाले निर्माण व्यवसायीलाई भत्काएर पुःननिर्माण सुरु गर्न निर्देशन दिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘केही समयअघि अनुगमनमा पुग्दा गुणस्तरहिन काम भएको पाइएपछि भत्काएर पुःननिर्माण गर्न भनेका थियौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तर अहिले कमजोरी सच्याउनुको सट्टा त्यहीमाथि निर्माण कार्य अघि बढाइएकाले काममा रोक लगाएका हौँ । बेतिथि गर्न हाम्रोमा कसैलाई छुट छैन । होसियार !’ पिसिसि ढलान हातले उक्काउँदा उक्किने अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
स्वास्थ्यचौकीको भवन निर्माणकाक्रममा भएका त्रुटी सच्याएर काम सुरु गर्न निर्देशन दिइए पनि सरासर काम अघि बढाइएको भन्दै बिहिबार गाउँपालिकाले ईन्जिनियर मुकेशनारायण यादव र सव–ओभरसियर सुजन घिमिरेलाई निर्माणस्थलमा खटाएको थियो । ईन्जिनियर र सव–ओभरसियर पुगेपछि ढलानका लागि लगाइएको फर्मा खोल्ने र क्यूरिङ नपुग्दा कमजोर भएको पिपिसि ढलानको भाग भत्काउन थालिएको छ ।
निर्माणस्थलमा पुगेका ईन्जिनियर यादवले क्यूरिङ नपुगेर पिपिसि ढलान कमजोर बनेको पाइएको बताए । बतासेका वडाध्यक्ष लोकेन्द्र राईले क्यूरिङ नपुगेकाले पिसिसि ढलान भत्काउनका लागि निर्देशन दिएको जानकारी गाउँपालिका अध्यक्षबाट पाएको बताए । पुःननिर्माण प्राधिकरणमार्फत प्राप्त भएको ७ करोड ४० लाख ८४ हजारमा दुई वर्षभित्र पुरा गर्नेगरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरिएको हो ।
स्वास्थ्यचौकीको भवन प्रदेशसभा सांसद रामकुमार राईले गत पुस ५ गते शिलान्यास गरेका थिए । २०७८ साल चैत ९ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी गौरी पार्वती न्यू टेक्नोलोजी जेभीले गत मंसिर १ गते भवन निर्माणको सम्झौता गरेको थियो ।
अघिल्लो दिन काम अघि बढाउन भन्दै हस्ताक्षर गरेर फर्किएको गाउँपालिकाका ईन्जिनियर भोलीपल्ट भत्काउन आएको प्राधिकरणका ईन्जिनियर उमाशंकर शाहले बताए । गाउँपालिका अध्यक्षको ‘मन राखिदिन’ ढलान भत्काइएको शाहको भनाई छ । निर्माण व्यवसायीले भने स्टीमेट अनुशार काम गरेको दावी गरेका छन् ।