७ बैशाख २०८२, आईतवार

अग्‍नि सापकोटालाई पक्राउ गर्न सर्वोच्चमा रिट

Supreme Court 43KnAVGEAY

सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गरेका छन्।प्रहरीले वारेन्ट गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनमाथि चुनौती थपिने उनको भनाइ छ।

द्वन्द्वकालीन अवस्थामा तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमा लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको छ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा संचारमन्त्री नियुक्त भएका थिए। सापकोटालाई मन्त्री बनाएका बेला मन्त्री रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले जाहेर गरेको रिट सर्वोच्चमा विचाराधिन छ।

अघिल्लो रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेको छ। अघिल्लो रिट भने सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन छ।

नेता अर्जुन लामा हत्या अभियोग लागेका सांसद सापकोटाले सभामुखमा उम्मेदवारी दिएका छन्। सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ।