
राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले शुक्रबारकै मितिदेखि लागू हुने गरी एक विज्ञप्ति जारी गर्दै राजीनामा राष्ट्रपति समक्ष बुझाएका छन् ।
प्रतिनिधिसभामा सभामुख पदका एक्ला उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको केही क्षणमा राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा आएको हो।
मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।
यो रिट दायर गर्नेमा प्याकुरेल पनि छन्। उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो । आफैले रिट हालेका आरोपित पात्र सभामुख बन्न लागेपछि उनले पदमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिएको बुझिएको छ ।