
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिनु भएको छ ।
अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छरु अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।’
उहाँले प्रधानमन्त्रीले राजीनामा नदिने पनि दाबी गर्नु भयो । सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको उहाँले बताउनु भयो। ‘अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन’ उहाँले भन्नु भयो , ‘सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।’
ओली नेतृत्वको नेकपा सग्लो भएकाले जस्तोसुकै परिस्थिती आएपनि लड्न सक्ने बताउनु भयो । ‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’ उहाँले भन्नु भयो ।
अब पार्टीले चुनौतीका बीचमा नयाँ ढंगबाट अगाडि जाने उहाँले बताउनु भयो आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बन्नु भन्दै जाने व्यक्ति कम्युनिस्ट पार्टीको नेतृत्व हुन नसक्ने उहाँले बताउनु भयो । जनताको पक्षमा जाने निर्णयविरुद्ध लाग्ने कम्युनिस्ट आन्दोलनमा हुनै नसक्ने उहाँको जिकिर छ।