
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने, नसच्चिए कांग्रेसको अस्तित्व गुम्न सक्ने बताएकी छन्। ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखिन् ।
नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताइन् ।
कोइरालाले पार्टीलाई बचाई राख्न नेतृत्व सचिनुको विकल्प नरहेको बताएकी हुन्। ‘अब पार्टीमा मेरो भन्दा पनि हाम्रो भन्ने बनाउन नेतृत्वले पहल गर्नुपर्ने अवस्था आएको छ’, उनले भनिन्, ‘जबसम्म मेरो भन्ने भावनाको अन्त्य हुँदैन तबसम्म पार्टी संकटमा सँधै पर्छ। पार्टी बनाउन नेतृत्व सच्चिनुपर्छ।’
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन् । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीनजना एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन् ।
नेत्री कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन् ।
काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उनले बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन् ।
यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने यसलाई सच्याउनुपर्ने उल्लेख गरिन् । रासस