
नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडान तर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्ध मासिक रुपमा करिब रु एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।
मूल्य समायोजन पश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा रु ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको छ । निगमले यस अघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो ।
इण्डियन आयल कर्पोरेशनले आज पठाएको मूल्य सूची अनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ ।