
स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले पराजित गरेको हो । ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र लाएक्स मोरिबाले एक एक गोल गरे । दुवै गोलका लागि कप्तान लिओनल मेसीले सहयोग गरे ।
खेलको ३०औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा मोरिबाले गोल गरे ।
जितपछि बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोड्दै लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ । बार्सिलोनाभन्दा दुई खेल कम खेलेको एट्लेटिकोको ५८ अंक छ । ओसासुना २६ खेलबाट २८ अंक सहित १३औं स्थानमा रहेको छ ।