
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए ।
निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।
सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी ब्युँतियो सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।
सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो । सर्वोच्चले अब यी राजनीतिक दलले एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी दर्ता गर्न निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ ।