
पर्वतको कुश्मामा बनेको विश्वकै दोश्रो अग्लो बञ्जीको सफल परिक्षण भएको छ ।
पर्वतको कुश्मा र वाग्लुङको बलेवा जोड्ने गरि कालीगण्डकी नदीमा बनाइएको पुलमा बञ्जीको बिहीबार सफल परिक्षण भएको बञ्जी सञ्चालक कम्पनी द क्लिफ प्रालीका अध्यक्ष राजु कार्कीले जानकारी दिएकाछन् ।
कालिगण्डकी नदीबाट पुलको उचाई २ सय २८ मिटर रहेको छ । ‘हामीले पुलबाट २०८ मिटरसम्म बञ्जी गर्छौं, २० मिटर ग्याप हुन्छ, अब हामी विश्वकै दोश्रो अग्लो बञ्जी बनेका छौं ।’अध्यक्ष कार्कीले भने।

यसको नियमित सञ्चालन आउँदो बैशाखदेखि हुने पनि कार्कीले बताएका छन्। हाल विश्वकै अग्लो बञ्जी मकाउमा रहेको छ, जसको उचाई ७ सय ६४ फिट छ ।
हालसम्म स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाईमा रहेको बञ्जीलाई दोस्रो अग्लो बञ्जी मानिँदै आएको छ । तर अब कुश्मामा ७ सय ४८ फिट अग्लो बञ्जी बनेकाले यो नै विश्वको दोश्रो अग्लो बञ्जी बनेको अध्यक्ष कार्कीले बताए ।
२०७३ सालदेखि निर्माण कार्य सुरु भएको बञ्जीसँगै रिसोर्ट पनि सञ्चालनको अन्तिम तयारीमा छ । २० करोड रुपैयाँको लागतमा बञ्जी र बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा लभ कुश्मा रिसोर्ट बनाईरहेको कम्पनीले जनाएको छ ।