
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा ।
तर माधव नेपालहरु अहिले पनि कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्छ भन्नेमा रहेका प्रचण्डले बताए । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिए । उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गरे । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’