
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।
महिला प्रहरी माथि यौन हिंसा गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो। उनी संघीय प्रहरी कार्यालय धरानमा कार्यरत छन्।
२०४९ सालमा राणा प्रहरी निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए। ‘प्रहरी प्रधान कार्यालयको छानविन अनुसार नै निलम्बन गर्ने निर्णय भएको हो’, गृहका प्रवक्ता सह सचिव केदार शर्माले भने।
एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई छानविन गर्ने निर्देशन दिएको थियो। ती महिलाले एसएसपी राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाएकी छिन्।
एसएसपी सिंह र तल्लो दर्जाकी महिला प्रहरीबीचको यौन संवादको अडियोसहित परेको उजुरीमा प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षणालयका डिआइजी मनोज नेउपानेले यस्ता बेनामी उजुरी धेरै आउँने भन्दै थन्क्याउन लगाएका थिए। स्राेतका अनुसार उनकै निर्देशनमा उक्त फाइल अझै पेन्डिङमा छ।
अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
प्रहरी अधिकृतहरुका अनुसार राणा २०६९ सालमा प्रहरी उपरीक्षक ९एसपी० भएर सुनसरी बस्दा ती महिलासँग चिनजान भएको थियो । त्यसपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा पनि उनी बसेका थिए । सुनसरी बसाइका क्रममा पीडित महिलासँग राणाको घनिष्ठ सम्बन्ध बनेको अधिकृतहरु बताउँछन् । एसएसपी राणाले आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।
भएको के थियो ?
कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यौन शोषण भएको दावी गरेकी थिइन्।
गृह स्रोतका अनुसार राणा पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक (एसपी)मा कार्यरत रहँदादेखि नै ती महिलासँग चिनजान र सम्बन्ध भएको देखिन्छ। राणा २०६९ सालमा सुनसरी प्रहरी उपरीक्षक थिए। त्यसपछि पनि उनी ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत् थिए।
राणा पछिल्लोपटक करिब तीन महिनायता संघीय प्रहरी इकाइ धरानमा कार्यरत् छन्।
‘पछिल्लो पोस्टिङमा राणा धरान पुगेपछि उनीसँग सम्बन्ध बिग्रिएको र ती महिला आफूलाई न्याय माग्दै गृहसम्म आइपुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘ती महिलाले आफूलाई ‘जीवन साथी’नै मानेर राणाले प्रयोग गर्दै आएको र आफूबाट ठूलै धनराशी पनि लगेको आरोप लगाएकी छिन्।’
राज्यले आफूलाई न्याय दिनुपर्ने जिकीर गर्दै उनले भनिन्, ‘मैले राज्छ छ भनेर न्यायका लागि गुहारेकी हुँ। राज्य रहेनछ भने म मुन्टो काटेर मर्छु।’