
एमाले नेता वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा धकेलिएको ठहर गरेको निकालेको छ ।
वामदेव गौतम नेतृत्वको अभियानले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उड्नुका साथै सोही कारणले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर धकेलिएको ठहर गरेको हो ।
वामदेव गौतम नेतृत्वको अभियानले विज्ञप्तिमार्फत ओलीमा नेतृत्व क्षमता कमी रहेको बताएको हो । यसअघि गौतमले ओलीमाथि आक्रामक अभिव्यक्ति नदिने गरेकोमा शुक्रबारको निर्णयपनि आक्रामक बनेका छन् ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णयको अभियानले विरोध गरेको हो ।
अभियानका सचिव बाबुराम थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गलत निर्णयलाई सच्याएर नवौँ महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपिल गरिएको छ । विज्ञप्तिमा एमालेलाई एकढिक्का बनाउन आग्रह गरिएको छ ।
शुक्रबार ओलीले आफू निकटको भेला गरी महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोसेका थिए । सो भेलाले माओवादीबाट एमले भित्रिएका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि सबैलाई आह्वान गरेको छ ।
तर एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।
