
अर्जेन्टिनाका प्रदर्शनकारीहरुले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन् ।हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रका निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजमाथि आक्रमण भएको हो ।
राष्ट्रपति आउने सूचना पाएपछि भेला भएका प्रदर्शकारीहरुले उनी चढेको गाडीमा ढुंगामुढा गरी गाडी तोडफोड गरेका हुन् । अर्जेन्टिनाको चुबुटमा रहेको खानी खोल्ने सरकारको योजना विरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
चुबुटमा रहेको सुन, चाँदी र युरेनियम समृद्ध क्षेत्रमा उत्खनन् गर्न थालेको भन्दै केही सातादेखि सर्वसाधारण सरकारको यो कदम विरुद्ध सडकमा उत्रेका थिए । आक्रमण लगत्तै सुरक्षा घेरा हाली राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।
अर्जेन्टिनाको प्याटागोनिया क्षेत्रमा हालै भएको आगलागीमा एक जनाको मृत्यु भएको थियो भने २ सय परिवार घरबारबिहीन बनेका छन् । सरकारले आगलागी पीडितहरुको उचित व्यवस्थापन नगरेको भन्दै आक्रोशित बनेका थिए । राष्ट्रपतिमाथि आक्रमण गर्ने केही प्रदर्शनकारी पक्राउ परेका छन् ।