
इजिप्टको एक अदालतले पूर्व सैनिक अधिकृतसहित ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अदालतले विशेष फौजका पूर्व अधिकृत हिशाम अल अशमावीलाई मृत्युदण्डको सजाय दिएको हो । अशमावीसँगै अन्य ३६ जनालाई समेत मृत्युदण्डको सजाय सुनाइएको छ ।
आतंकवादसम्बन्धी मुद्दामा दोषी देखिएपछि अशमावीसहित ३७ जनालाई मृत्युदण्डको सजाय दिइएको अदालतका अधिकारीहरूले बताएका छन् ।
विशेष फौजका पूर्व अधिकृत अशमावीलाई सन् २०१८ को अन्त्यतिर लिबियाको डर्ना शहरबाट गिरफ्तार गरिएको थियो । लिबियाका युद्ध सरदा खालिफा हफ्तरप्रति बफादार अधिकारीहरूले उनलाई पक्राउ गरेर गत वर्षको मे महिनामा इजिप्टका अधिकारलाई सुम्पिएका थिए ।
अशमावी विशेष फौज छोडेपछि इस्लामिक लडाकु बनेका थिए । उनी माथि विभिन्न आरोप लगाइएको छ ।
सन् २०१४ मा लिबियाको सीमा नजिकै २२ जना सैनिकको ज्यान जाने गरी भएको आक्रमणको योजना बनाएको र सन् २०१३ मा पूर्व गृहमन्त्रीको हत्या गर्न बनाएको जस्ता आरोप अशमावीमाथि लगाइएको छ ।
अशमावीले इजिप्टको साइनाइमा सक्रिय लडाकु समूह अन्सर बायत अल मक्दिसको नेतृत्व गरेको समाचारमा बताइएको छ । उक्त लडाकु समूहले सन् २०१४ मा आफू इस्लामिक स्टेटसँग प्रतिवद्ध रहेको बताएको थियो ।
अदालतले आतंकवादसम्बन्धी मुद्दा र मृत्युदण्डको फैसला इजिप्टका इस्लामिक कानुन प्रमुख ग्रान्ड मुफ्तीसमक्ष पेश गरेको छ । इजिप्टको कानुन अनुसार कुनै पनि व्यक्तिलाई मृत्युदण्ड दिनुपूर्व तत्सम्बन्धित फैसला मुफ्तीसमक्ष पेश गर्नुपर्छ ।
ग्रान्ड मुफ्तीको रायपछि अदालतमा आजको फैसलाबारे मार्च २ मा पुनः छलफल हुने समाचारमा बताइएको छ । एजेन्सी