८ बैशाख २०८२, सोमबार

नेपालबाट १३६ पर्यटक निष्कासित, निष्कासित हुनेमा चिनियाँ धेरै

immigration depatment adhyagam

पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाही स्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागु औषध लगायत कसूरका धेरै रहेका छन् ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले जानकारी दिनुभयो । विभागको तथ्याङ्क अनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ ।

आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ जस मध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो । आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७०० लाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ ।

यस्तै ७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनाालाई आश्रित भिसा जारी गरिएको छ । विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर रु ४२ करोड २६ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ ।