
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहिबार बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक-दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
“आज अनौपचारिक बैठक बस्यो । एक÷दुई दिनभत्र औपचारिक बैठक बस्दैछ । बैठकको तयारीस्वरुप आजको बैठक बसेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका विषयमा छलफल भयो”, उहाँले भन्नुभयो, “अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन ।
विभिन्न राजनीतिक पार्टीहरुसँगको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने बारेमा निक्र्योल गर्न केही समय माग गरेका छन् । पार्टीसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ । ”वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर गर्दै उहाँले केही प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको बताउनुभयो ।
“अहिलेको सन्दर्भमा हामीले समर्थन फिर्ता भनेर चिठ्ठी लेखेका छैनौँ”, उहाँले भन्नुभयो, “पार्टीको एकतापछि संविधानको धारा ७६ (१) को सरकार भएको थियो । ७६ (१) को सरकारलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपालाई दुईवटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन, हामीले पनि समर्थन गरेका पनि छैनौँ ।
”बैठकमा पार्टीका सङ्गठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापी रूपमा अभियान कसरी लैजाने, राष्टिय रूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्ने बारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अब बस्ने स्थायी समिति बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।