
सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवानालाई निकै बढाउने गृहकार्य गरेको छ । यातायात व्यवस्था विभागले ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना लगाउने तयारी गरेको हो।
संघीय यातायात ऐनको मस्यौदामा न्यूनतम ५ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘मापसे गरेर गाडी चलाए, लेन क्रस गरे ५ हजार र चोरीको गाडी चलाए १ लाख जरिवानाको प्रस्ताव गरेका छौं। यी बाहेक अरु कसुरहरुमा पनि जरिवाना बढाएका छौं,’
उनले भने विभागले ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको छ। मन्त्रालयले कानून मन्त्रालय र सम्बन्धित निकायसगँ छलफल गरेपछि मस्यौदा संसद पठाउछ। संसदले पारित गरेपछि यो नियम लागू हुनेछ। कर उठाउनैको लागि जरिवाना नबढाइएको उनले प्रष्ट पारे।
‘एकहजार रुपैयाँ जरिवाना हुने त हो नि भन्दै नियम पनि मान्दिन, जरिवाना लिने रकम यात्रुसँगै उठाउँछु भन्ने मानसिकताले सार्वजनिक सवारीहरु चलेका छन्,’‘हामीले ज्यान जोगाउनको लागि जरिवाना बढाउन लागेका हौं। सडकमा कसैले गल्ती गर्यो भने गल्ती नगर्नेको पनि ज्यान जानसक्छ। जरिवाना धेरै भए चालक गल्ती गर्न उत्साहित हुँदैनन्,’ उनले भने।