
नेपाल मानव अधिकार आयोगले चीनको हुवेईका नागरिक तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।
त्यहाँका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील हुन आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई नेपालीहरुको यथासिघ्र उद्धार गर्न अपिल गरे ।
अभिभावक उमेश सिंहले भने, ‘स्वास्थ्य मन्त्रालय निकम्मा भयो । हाम्रा आफन्त भोकभोकै त्रासमा छन् । तर, मन्त्रालयले यहि मितीमा ल्याउँदैछौ भनेर स्पष्ट जबाफ दिन मान्दैन ।’ हाल अभिभावकहरुले दिनहुँ आफ्ना आफन्तको गुहार माग्दै सरोकारवाला निकाय समक्ष पुग्ने गरेका छन् ।
कोरोना भाइरसका कारण सन्त्रस्त सो प्रान्तमा रहेका नेपालीका अभिभावकहरूद्वारा आयोगसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
सो सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको थियो। चीनमा हाल १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि फारम भरेका छन्। गत शनिबार साँझ एक सूचना जारी गर्दै चीनस्थित नेपाली दूतावासले आइतबार ९ बजेसम्म फारम भरिसक्न आह्वान गरेको थियो।
तर हालसम्म पनि नेपाल सरकारले नागरिक फिर्ता ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ।
सुरुमा चीनको हुवेई प्रान्तमा भेटिएको कोरोनाका कारण ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने २५ भन्दा बढी देशमा संक्रमितहरू भेटिइसकेको छ।
