
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।
पहिलो दिन रथ असनमा लगी राखिएको थियो ।
जात्राको दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिअघि लगी राखिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।
बिहीबार रथ हनुमानढोकाबाट लगनटोल पुर्याइन्छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले बताउनुभयो । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको पनि उहाँले सुनाउनुभयो ।