
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले आयोजना गरेको ‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागी भएनन्।
धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्।
नेकपा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल पनि सहभागी भएका छैनन् ।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।
माघ २७ गते केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सूचना निकालेर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने उल्लेख गरिएको थियो।
गत वर्ष फागुन १ मा पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसका कार्यक्रममा सहभागी भएका थिएनन्।