
सवारी दुर्घटनामा परी नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरीमा बुधबार बेलुका भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
बुधबार बेलुका करिब ६ बजेतिर सिलवाल चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँएको थियो । दुर्घटनामा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटरको पछाडि बसेकी उनकी बहिनी सर्मिला सिलवालको पनि मृत्यु भएको छ । उनीहरु चितवनका हुन् । दुर्घटनामा घाइते भएकी सर्मिलाको उपचारका लागि काठमाडाैं ल्याउने क्रममा मृत्यू भएको हो । उनीहरु चितवन जाने क्रममा स्कुटरलाई बसले ठक्कर दिएको बताइएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट नायिकाका रुपमा प्रवेश गरेकी थिइन् । उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिगोलो’ लगायत चलचित्रमा अभिनय गरेकी छन् ।
