
फागुन ३० बाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार चढावमा देखाउन खोजिएको छ ।
सुदर्शन थापा निर्देशित फिल्ममा पल र पूजाको अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्म ‘म यस्तो गति गाउँछु २’ को ट्रेलर करिब ३ मिनेट १० सकेन्ड लामो ट्रेलरमा साङ्गीतिक प्रेमकथा प्राथमिकतामा छ।
यसँसगै ट्रेलरको १ मिनेट ४५ सेकेन्डको एउटा ‘फेन्टासी’ अर्थात् भ्रमपूर्ण दृश्य दर्शकका लागि रोचक अनि आकर्षक छ।
कारण अभिनेता पल शाह दृश्यमा नाङ्गै छन्। तथापि, उनको शरीर बाल्यकालको छ। तर, टाउको र अनुहार जवान।

त्यही जवान अनुहार पूजालाई आँखा झिम्क्याइ रहेको छ। अनि, पूजा त्यही ‘फन्टासी’ पात्रसँग रमाइरहेकी छन्। ट्रेलरमा देखाइएको उक्त दृश्यमा पूजा अर्थात् फिल्मकी महिला पात्र पलको प्रेममा छिन् र, हरेक वस्तुमा आफ्नै पलको बिम्व देख्छिन्।
यद्यपि, फिल्मको कथाले त्यहीअनुरुप पात्र माग गरे पनि पल शाहको उक्त ‘फेन्टासी’ दृश्य दर्शकका लागि हाँसोको केन्द्र बनेको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगबीच पल शाह उक्त दृश्यका कारण ‘मिम’ र ट्रोलको सिकार बन्ने पक्का छ। यसले फिल्मको प्रचारमा सानो सहयोग त पुग्ला। तर, पल शाहको करिअरमा नयाँ इँटा थप्ने काम भने कदापि गर्ने छैन।
बिहीबारको ट्रेलर सार्वजनिक कार्यक्रममा पल शाह स्वयं पनि आफ्नो उक्त नाङ्गो दृश्यसँग केही लज्जित देखिन्थे। उनी भन्दै थिए,‘म सानो झदा यस्तै थिएँ, पछि विस्तारै हुर्केको हुँ।’
पलको उक्त दृश्यका विषयमा अभिनेत्री पूजाले भने गज्जबको आनन्द लिएको बताइन्। ‘स्क्रिनमा हेरेर म त हाँसेको हाँसै भएँ। खुब ‘इन्जोए’ गरेँ।’
सार्वजनिक कार्यक्रममा पलको बाल्यकालको नाङ्गो दृश्यले प्राथमिकता पाइरहँदा दृश्यमा देखिएको गोप्य अङ्गले पललाई पिरोलिरहेको अनुमान लगाउन असहज थिएन।
एक महिलाको गायिका बन्ने संघर्षको बिषयमा बनेको फिल्ममा शिवम् अधिकारी र दिनेश न्यौपानेले कथा लेखेका हुन् ।
बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा अर्जुन पोखरेलको संगीत छ । गितलाइ रामजि लामिछानेले कोरियोग्राफि गरेका हुन् ।