७ बैशाख २०८२, आईतवार

वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

ban nigam

वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवार मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही वैशाख १८ गते सार्वजनिक गरेको हो ।

‘सर्टलिष्ट’ परेकाको वैशाख २६ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र २७ गते अन्तर्वार्ता गरिने परिक्षा तालिका मन्त्रालयले यस अघि नै प्रकाशन गरिसकेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिनुभयो । यस अघि आवेदन परेकाहरूको वैशाख १५ र १६ गते व्यवसायिक कार्ययोजनाको अध्ययन मूल्याङ्कन कार्यक्रम गरी सूची प्रकाशन गरिएको थियो ।

मन्त्रालयले गत चैत ३ गते निगमको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिष्पर्धात्मक प्रतियोगताद्वारा पदपूर्ति गर्न १५ दिनको समयावधि तोकी सूचना प्रकाशित गरेको थियो । साथै यसअघि २०७६ साल भदौ १ गते मन्त्रालयद्वारा नै प्रकाशित वन निगमको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विज्ञापन २०७७ साल चैत १ मन्त्रिस्तरीय निर्णयबाट रद्द गरिएको थियो ।

सूचना अनुसार उक्त पदमा मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको र ३० वर्ष उमेर पूरा भएको योग्यता तोकिएको थियो । सिइओ छनोटका लागि गठिन समितिले अन्तिम तीन जनाको नामावली छनोट गरी मन्त्रालयमा पठाउने र मन्त्रालयको प्रस्तावमा तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्ति गर्नसक्ने कार्यविधिमा व्यवस्था छ ।

वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थित रूपमा कटान सङ्कलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने उद्देश्ले २०१७ सालमा स्थापित द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको नै हालको वन निगम हो ।