
प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मानवीय संकटका बेला एकजुट भएर काम गर्नुपर्नेमा कतिपयले राजनीति गर्न खोजेको ओलीले बताएका छन् ।
बालुवाटारमा भएको सरोकारावालासँगको छलफलमा ओलीले महामारीमा के-कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरेका हुन् ।
ओलीले सुदूरपश्चिमले संघको सहयोग नलिएकोप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ती जनाएका छन् । स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भन्न नमिल्ने तर्क प्रधानमन्त्रीको छ ।
सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै प्रधानमन्त्रीले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए ।
महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै ओलीले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको बताए ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मकभन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेका छन् ।