
भारतीय अभिनेत्री सना खान कोरियोग्राफर मेल्विन लुइससँगको ब्रेकअपको कारण चर्चामा छिन्। यी दुई पछिल्लो एक वर्ष प्रेममा थिए। सनाका अनुसार जब उनलाई मेल्विनले आफूलाई धोका दिइरहेको थाहा पाइन् तब उनले ब्रेकअप गरिन्। हालै उनले एक अन्तर्वार्तामा ब्रेकअपसँग जोडिएको केही कुराहरु बताएकी छन्।
अन्तवार्तामा उनले आफूले डिप्रेशन र एन्जाइटीको समस्या भोगिरहेको बताएकी छन्। उनी आफू यसबाट बाहिर आउने प्रयासमा रहिरहेको बताएकी छन्। ‘मेरो परिवार मेरो साथमा छ, मैले २० दिनसम्म निन्द्राको औषधि खाएँ,’ उनले भनिन्, ‘भगवानको आशिर्वादले पछिल्लो दुई दिन म आनन्दले निदाउन सकेको छु र म यो कुराले धेरै खुसी छु।’

सँगै उनले भनेकी छन्, ‘सामाजिक सञ्जालमा मेरो प्रोफाइलमा जो मानिसले मलाई अब अगाडि बढ्नुपर्छ भन्ने सल्लाह दिएका छन्, म उनीहरुलाई भन्न चाहन्छु कि यो यति सजिलो छैन। धोकेबाज सजिलै अगाडि बढ्छन्, तर जो सम्बन्धमा प्रतिबद्ध हुन्छन् उनीहरुलाई समय लाग्छ।’
सनाले अन्तर्वार्तामा भनेकी छन्, ‘हामी विवाह गर्ने विचारमा पुगेका थियौँ। हाम्रो परिवारको कुरा मिलिसकेको थियो, सबै कुराको व्यवस्था मिलिसकेको थियो। मेल्विन सन् २०१९ को अप्रिलसम्म मसँग नै थिए। मेबाट मैले उनको स्वाभावमा परिवर्तन देखे, धेरै असमझदारी बढ्यो। अनि मैले नै सधैँ झगडामात्र हुने सम्बन्धमा बस्नुभन्दा अलग हौँ भने। म एक वर्ष उसँग सम्बन्धमा हुँदा कसैसँग भेटिन। ऊ म सँग जतिखेर पनि साथ हुन्थ्यो।’
३१ वर्षकी अभिनेत्री सना सन् २०१२ मा भएको ‘बिस बोस ६’ को राम्रो खेलाडी हुन्। यो सँगै उनले चलचित्र ‘जय हो’ मा सलमान खानसँग, ‘ट्वाइलेट एक प्रेम कथा’ जस्ता चलचित्रमा काम गरिसकेकी छन्।