
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका छन् ।
पुनर्गठित नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् । उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।
त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन्। शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अरु नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।
स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका हुन्।
मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
गृह र रक्षा प्रधानमन्त्रीसँगै
शक्रबारको विस्तारपछि पनि गृहसहित केही मन्त्रालय अझै मन्त्री विहीन रहे । रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् ।
हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नेछन् ।
मन्त्रिपरिषद्को कार्यविभाजन :
- प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
- विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
- राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
- रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
- शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
- कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
- बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
- लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
- शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
- अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
- विमल श्रीवास्तव : श्रम तथा रोजगार
- उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
- लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
- चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
- एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
- चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
- रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक