
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्।
उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए ।
पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित पुर्ख्यौली घर पुगेर आफ्ना बालसखासहितका गाउँलेसँग जन्मदिन मनाए।

प्रधानमन्त्री ओली अवतरण हुनै लाग्दा हेलिकप्टरले उडाएको धूलोले सर्वसाधारणलाई व्हात्तै छोप्यो ।
आइतवार पाँचथरको यासोकमा तमोर लिफ्ट खानेपानी आयोजना र विद्युतको केन्द्रीय प्रसारण लाइन उद्घाटन गरेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मघरतिर लागेका हुन् ।
जन्मदिनका दिन ओली आउने भएपछि त्यहाँको स्थानीय सरकारले ३ महिनाअघि देखि नै तयारी थालेको थियो । हेलिप्याड बनाउनेदेखि लिएर अन्य आवश्यक कुराहरू पहिल्यैदेखि व्यवस्थापन गरिएको थियो ।
प्रधानमन्त्री पुगेपछि उनको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो ।

ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत थिए ।
आठराईमा रहँदा प्रधानमन्त्रीले प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको थियो। इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका छन्।

त्यसअघि उनले छिमेकी जिल्ला पाँचथरको कुम्यायक गाउँपालिकास्थित तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट लगिएको खानेपानी आयोजनाको उद्घाटन गरे।
जन्मदिन मनाउने क्रममै ओलीले आफ्नो जन्मथलो तेह्रथुम जाँदै उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित तत्कालिन एमाले महासचिव मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गरे।
त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरे।




