
नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन दिएको छ।
प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन सहित पत्र पठाएका छन् ।
माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान विश्वासको मत लिने भएका छन् । एमालेले भने विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए ।त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई पनि विपक्षमा मतदान गर्न निर्देशन दिँदै पत्र काटेको छ ।
१० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरे पनि १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम रहेको निर्णय गरेको थियो । अहिले एमाले माधव पक्षका सांसदहरू पनि सरकारमा सहभागी छन् ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्न २७ जना आवश्यक पर्छ । अहिले एमालेमा २५ माओवादीका १३ काँग्रेसमा १२ र जनता समाजवादी पार्टीमा २ जना रहेका छन् । एमालेमा सभामुख बाहेकका २४ जना मध्ये नेपाल पक्षमा १५ र ओली पक्षमा ९ जना छन् । माधव पक्षले पक्षमा मतदान गरे मुख्यमन्त्री भट्टले विश्वास प्राप्त गर्ने छन् । नेपाली काँग्रेस र जसपाले भने अझै के गर्ने भन्नेबारे निर्णय गरेको छैन ।