
दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै नयाँ कीर्तिमान हुन सक्ने पनि जनाइएको छ ।
पहिला स्क्यान गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिए पनि १० वटा जन्मिँदा आफू छक्क परेको गोसियामे थमारा सिथोलेका पतिले जनाएका छन् ।
पहिला गर्भवती अवस्थामा भिडियो एक्सरे गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिएको र पछि १० वटा बच्चा जन्मिएको बीबीसीले उल्लेख गरेको छ । गोसियामे थमारा सिथोलेका पतिले १० बच्चा जन्मिँदा आफू छक्क परेको बताएका हुन् ।

प्रिटोरीआ न्यूजमा टेबोहो सोतेत्सीले उधृत गर्दै बीबीसीले लेखेको छ, ‘सात छोरा र तीन छोरी छन् । म खुसी छु, म भावुक भएको छु । म धेरै कुराकानी गर्न सक्दिनँ ।’
छ वर्षअघि पनि सैँतीस वर्षीया सिथोले जुम्ल्याहा बच्चा जन्माएको समाचारमा उल्लेख छ ।
गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ । विश्व रेकर्ड हुनसक्ने भएपछि गिनिज वर्ल्ड रेकर्ड्सले यस विषयमा अनुसन्धान थालेको पनि बीबीसीले जनाएको छ ।
यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन् । एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ ।
