
धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्करको आँखा मूर्तिमा लागेका हुन् ।
डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति, जीवनशैली पनि पर्यटकको रोजाइ पर्दै आएसँगै त्यहाँका पुराना मूर्तिसमेत असुक्षित बन्दै आएका छन् । आधा समय तल्लो डोल्पाका बिभिन्न ठाउँमा उपल्लो डोल्पाका स्थानीयवासी चिसो छल्न झर्ने गर्दछन् ।
उपल्लो डोल्पाका सर्वसाधारणलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बालाई जोगाउन हम्मेहम्मे परेको नागरिक अगुवा शेर बुढाले बताउनु भयाे । गुम्बा बौद्धमार्गीका आस्थाका धरोहरका रूपमा रहेका प्राचीन मूर्ति प्रत्येक वर्ष चोरी भए पनि चोरीमा संलग्न नभेटिएपछि समस्या हुँदै गएको बुढाकाे भनाइ छ ।
कानूनी प्रावधानसमेत फितलो हुँदा तस्करको मनोबल बढेको भन्दै उहाँले भन्नु भयाे, “नयाँ मूर्ति किन्दा लाखौँ पर्छ, पुराना मूर्ति सबैको मिलेमतोमा मूल्यहीन बनाउने देखियो । गरिबी तथा बेरोजगारलाई मूर्ति चोरी गर्ने कार्यमा प्रयोग गरी ठूला माफियासम्म पुग्ने गरेको छ । दण्ड, सजाय फितलो छ । प्रहरी निगरानी कमी, अनुसन्धान गर्ने मान्छे लामो समयसम्म बस्न नपाउनु, पहुँचवाला र चोरीको सूचना दिने व्यक्ति नै असुक्षित हुँदा समस्या भएको छ ।”
पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बालगायत प्राचीन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चोरी भएकामा चार थान मूर्ति मात्रै बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयाे। पाण्डेका अनुसार २०७२ मङ्सिर २७ गते शे–फोक्सुन्डो गाउँपालिका–३ मा रहेको सेलरी सोम्दो गुम्बाबाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेला पर्न सकेको छैन । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिका–३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते राति चार थान बुद्धका मूर्ति, बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो ।