
नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने भएको छ।
गत जेठ २९ मा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि बहुमतसहित पोखरेलले मुख्यमन्त्रीको नियुक्ति पाएका थिए। संयुक्त गठबन्धनमा स्वतन्त्र एक सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थनले सरकार बनेको थियो।
संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिने निधो भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।
उनका अनुसार सरकारका तर्फबाट मुख्यमन्त्री आफैँले मंललबार प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल पनि त्यसपछि मात्र प्रारम्भ गर्ने तयारी भइरहेको छ।विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ।