
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षलाई झुठा विवरण लेखी, किर्ते जालसाजी गरेर निर्वाचन आयोगमा पत्र पठाएको आरोप लगाएको छ । अध्यक्ष यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ती जारी गर्दै सो आरोप लगाउनुभएको हो ।
“निर्वाचन आयोग, पार्टी पङ्ति र आम जनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी र दण्डनीय कार्य हो” विज्ञप्तीमा भनिएको छ । अध्यक्ष यादवव पक्षले त्यस्तो जालसाजी र किर्ते कामको भ्रममा नपर्न पनि पार्टी पङ्ति र जनसमुदायमा आग्रह गरेको छ ।
अध्यक्ष ठाकुर पक्षले केन्द्रीय कार्यकारीणी समितिमा सदस्यहरु थप गरेको विवरणसहितको पत्र गत मंगलबार निर्वाचन आयोगमा पठाएको थियो । पार्टीको कार्यकारीणी समितिको गत पुस ७ गते बसेको बैठकमा नै सबै निर्णयहरु गरी सार्वजनिक गरिसकिएको यादव पक्षले दावी गरेको छ ।