
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले किर्ते जालसाजी गरेको आरोप लगाउँदै आइतवार निर्वाचन आयोगको ध्यानाकृष्ट गरेको छ ।
जसपाका ठाकुर र राजेन्द्र महतो समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी समेत भएको बताइएकोछ । अल्पमतमा परेका ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै किर्ते जालसाजीको मुद्दा दर्ता गर्न लागिएकोछ । ठाकुर समुहले यादवलाई सधारण सदस्य समेतबाट निष्कासन गरेको बैठकको निर्णय समेत आयोगमा पेश गर्न नसकेको र त्यस बखत पुस ७ को निर्णय बमोजिमको अधिकार प्रयोगगरि कार्वाही गरिएको कागजात नबुझाएका समुहले असार १ गते कहाँबाट निर्णयको प्रतिलिपि बुझाए परेका ठाकुर–महतो समुह निकृष्ट कार्य गरेको यादवले आरोप लगाए । यता संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका कानुन व्यवसायीहरूले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् । ‘अर्को प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर ठाकुर लगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाजी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । राईले भने, ‘ यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता गर्न मिल्छ ।’ महन्थ ठाकुरलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने उनले बताए ।
यादव पक्षले आफ्नो समूह जसपाको आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ । तर ठाकुरले गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको अधिकारअनुसार आफूले कार्यकारिणी समिति सदस्यलाई हेरफेर गरेको बताउँदै आएका छन् । कार्यकारिणी समितिबाट उनले यादव पक्षका २० जना हटाएर ठाकुरले आफ्नो पक्षका २० जना राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । यादव पक्षले त्यो दिन यो खालको कुनै निर्णय नै नभएको भन्दै बिभिन्न प्रमाणहरु पेश गरेकोछ । त्यो दिन भएको निर्णयको विज्ञप्तिमा ठाकुर र यादव दुवैजनाको हस्ताक्षर रहेको छ भने सोही निर्णयलाई पार्टीभित्र सर्कुलर गरिएको छ । त्यसमा पनि अध्यक्ष ठाकुरलाई त्यस्तो जिम्मेवारी दिएको कतै उल्लेख गरिएको छैन ।