
लागुऔषधसहित पक्राउ परेका व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पासहित चारैजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
बिहीवार बयानपछि न्यायाधीश विदुर कोइरालाको इजलाशले उनीहरुलाई थुनामा पठाउने निर्णय सुनाएको हो।
गत माघ १८ गते खैरो हिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए।
काठमाडौं महानगरपालिका वडा नम्बर–१५ भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङ शेर्पाका छोरासहित चारजनालाई स्वयम्भू प्रहरी प्रभागको टोलीले पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट एक सय ग्राम खैरो हेरोइन फेला पारेको थियो।
पक्राउ पर्नेमा आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।