
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा क्रोएसियाले स्कटल्यान्डलाए हराउदै अन्तिम १६ मा प्रवेश गरेको छ।
विश्वकपको उपविजेता क्रोएसिया युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत खेलमा स्कटल्यान्डलाएै ३-१ गोलले उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
निकोला भ्लासिचको गोलमा क्रोएसियाले १७ औं मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको क्रसलाई इभान पेरिसिचले भ्लासिचको पथमा पठाएपछि उनले गोल गरेका थिए । तर क्यालम मक्ग्रेगरले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले पहिलो हाफको ४२ औं मिनेटमा गरेको शक्तिशाली प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाउन सकेनन् ।
कप्तान लुका मोड्रीचले ६२ औं मिनेटमा दर्शनीय गोल गरेपछि क्रोएसिया पुन: अघि बढेको थियो । मोड्रीचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट आउटसाइड फुटले गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।

७७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको जित पक्का गरे । उनले मोड्रीचको कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई २ गोलले अघि राखेका थिए । अन्तिम समयमा स्कटल्यान्डले खेलमा फर्कने संकेत देखाएपनि क्रोएसियाले अग्रता जोगाउन सफल रहयो ।
यस जितले क्रोएसिया चेक रिपब्लिकलाई पछि पार्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । चेक इंग्ल्यान्डसँग १-० ले पराजित भएपछि क्रोएसियालाई फाइदा पुगेको हो । समान ४-४ अंकका साथ गोलअन्तर बराबर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अघि बढेको हो । यस समूहमा इंग्ल्यान्ड ३ खेलमा ७ अंकसाथ शीर्ष तथा १ अंक जोडेको स्कटल्यान्ड पुछारमा रहयो ।