
शुक्रबार बिहानै अध्यक्ष केपी ओलीबाहेक पार्टीका चार शीर्ष नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड)को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् ।
शुरुमा प्रचण्ड निवासमा झलनाथ खनाल त्यसपछि माधव नेपाल र वामदेव गौतम पुगेको जनाइएको छ । स्रोतका अनुसार छलफलमा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई पनि बोलाइए पनि उनी पुगेका छैनन् ।
बिहान करिब आठ बजेदेखि भएको भेटवार्ता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय कार्यान्वयन र प्रधानमन्त्री ओलीले त्यसविरुद्ध लिएको अडानका विषयमा केन्द्रीत रहेको स्रोतले जानकारी दिएको छ । शीर्ष नेताबीचको छलफलपछि प्रचण्ड आजै चितवन जाने कार्यक्रम छ ।
पार्टीमा पछिल्लो समय देखिएको समस्या त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।
पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।
नेता खनाल, नेपाल लगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिन थालेका छन् ।