
युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हंगेरीको बुडापेस्टस्थित पुस्कस एरेनामा भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २-० गोल अन्तरले हराएको हो।
चेक रिपब्लिकले शुरुदेखि नै दबाबका साथ खेल प्रस्तुत गरेका थियो। दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २-० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो ।

पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टको साथ गुमाएको थियो । डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । अब चेकले सेमिफाइनल प्रवेशका निम्ति डेनमार्कसँग खेल्नेछ ।
खेलको आठौं मिनेटमा नेदरल्यान्ड्सले गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । कर्नरमा म्यथिस डी लिग्टको हेडरले पोस्टको दिशा लिन नसकेपछि उक्त बलमा मेम्फिस डिपाएले गरेको प्रहार बाहिरियो । १६ औं मिनेटमा डोनी मालेनको प्रहारलाई गोलरक्षक टोमस भाच्लिकले बचाउँदै कर्नर दिएका थिए । जवाफी कर्नरमा पनि उनी नै बाधक बने ।
कप्तान टोमस सुचेकको हेडर थोरैले बाहिरिंदा २२ औं मिनेटमा चेकले अग्रता लिन सकेन । दायाँ विंगबाट सेभ्चिकले गरेको क्रसमा सुचेकको डाइभिङ हेडरमा गोलरक्षक बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २८ औं मिनेटमा प्याट्रिक सिकको प्रहार डे रुनलाई लाग्दै गोलरक्षक मार्टेन स्टेकेलेनबर्गले सहजै बचाए ।

चेकले ३८ औं मिनेटमा अघि बढ्ने सुवर्ण अवसर खेर फाल्यो । एन्टोनिन बाराकले पेनाल्टी क्षेत्र भित्रबाट पोस्टमा प्रहार डिफेन्डर डी लिग्टले छेक्दा खेल गोलरहित नै रहयो । काउन्टर अट्याकमा राम्रो मुभ बनाएको चेकका लागि मासोपुस्तको पासमा बाराक गोल गर्न चुकेका थिए । लगत्तै अर्कोतर्फ डम्फ्राइजको लो क्रसमा मालेन बलसम्म पुग्न सकेनन् ।
दोस्रो हाफको सुरुवातमा नै डच टोलीले दुई अवसर गुमायो । डम्फ्राइजको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका मालेनले बलसम्म पुग्न सकेनन् । त्यसको केहि मिनेटमा नै डिपाएको चलाखीपूर्ण फ्लिकमा मालेनले दुई डिफेन्डरलाई बिट गरेपछि वन भर्सेस वनमा गोलरक्षक भाच्लिकलाई झुक्याउन असफल रहे ।
नेदरल्यान्ड्स ५५ औं मिनेटमा १० खेलाडीमा सिमित भयो। टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि सिकलाई बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।
डम्फ्राइजले पेनाल्टी क्षेत्रभित्र ६५ औं मिनेटमा उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित राखे । कादेर्बेकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई उनले पोस्टतर्फ जानबाट रोकेका थिए ।

चेकले ६८ औं मिनेटमा टोमस होलेसको गोलमा अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत सहजै गोल गर्दै अग्रता दिलाएका थिए ।
प्याट्रिक सिकले ८० औं मिनेटमा चेकको अग्रता दोब्बर पारे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई सिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल नजिक पुर्याएका थिए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल पनि थियो ।
चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । आज हुने राउन्ड अफ १६ को खेलमा साविक विजेता पोर्चुगल र बेल्जियम खेल्दैछन् ।