
१० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकसँग हार बेहोर्दै नेदरल्याण्ड युरोकपबाट बाहिरिएको छ।
हंगेरीमा भएको खेलमा इटालियन क्लब युभेन्टस तथा नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीका डिफेन्डर म्याथिस डी लिग्टले आफ्नै कारणले गर्दा नेदरल्यान्ड्स युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा चेक रिपब्लिकसँग पराजित भएको बताएका छन् ।
डी लिग्टले खेलको ५५ औं मिनेटमा रातो कार्ड खाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । उनले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिर लडेपछि सिकलाई बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।

खेलको पहिलो हाफमा केहि अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले खेलमा पोसेसन राख्दै दबाब पनि बनाएको थियो । तर डी लिग्टले रातो कार्ड खाएपछि चेकले दबाब बनाएको थियो । चेकका लागि टोमस होलेसले ६८ औं मिनेट र प्याट्रिक सिकले ८० औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।
खेलपछि बोल्दै डी लिग्टले आफ्नो गल्तीका कारण टोलीले हार बेहोरेको बताए । ‘पक्कैपनि निकै नराम्रो लागेको छ । हामीले खेल हार्नुको मुख्य कारण नै मैले गरेको गल्ति हो । अहिले फर्केर हेर्दा मैले त्यो बललाई बाउन्स हुन नै नदिनुपर्ने थियो जस्तो लाग्छ,’ उनले भने ।
उनले थपे, पहिलो हाफमा अवसर सिर्जना गरेको बताउँदै उनले रातो कार्डले नै खेल बदलिएको बताए । ‘मलाई लाग्छ खेल हाम्रो नियन्त्रणमा नै थियो । हामीले पहिलो हाफमा केहि अवसर पनि सिर्जना गरेका थियौं । मलाई लाग्दैन उनीहरुले त्यस्तो राम्रो अवसरहरु बनाएका थिए । तर रेड कार्डले खेलको रुप नै बदलियो,’ ।
