
फाइल फोटो
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।
उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’ गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए । उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’