
विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्।
राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र बेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्।
संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनले राष्ट्रपति भण्डारी र ओलीविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको सम्भावना हुँदाहुँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा संसद विघटन गरिएको भन्दै विपक्षी गठबन्धनले विरोध गरिरहेको छ।
प्रतिगमनको विरोधमा विद्यार्थी संगठनले शुक्रबार गरेको प्रदर्शनमा शंकरदेव क्याम्पसबाट ७ जना पक्राउ परेका छन्।
प्रदर्शनकारीले राँके जुलुस र पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। पटक–पटक संसद विघटन गरेर संविधान विरोधी गतिविधि गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
यसअघि शुक्रबार नै बसेको उनीहरुको बैठकले असार १९ गते ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने, २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पूर्व अध्यक्ष र नेताहरुसँग अन्तर्क्रिरया गर्ने, २१ गते संविधान जोगाउन सबै जिल्लामा संविधानको प्रति प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।












