
पृथ्वी राजमार्ग अन्तरगत धादिङको जवाङ्खोलामा पहिरो जाँदा ५ वटा गाडी पुरिएको छ । घटनामा दुई जनाको मृत्यु भएको मुग्लिनबाट पत्रकार विनोद श्रेष्ठले जानकारी दिएका छन ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको वेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा पहिरो गएको हो । मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरो खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको ट्रक मै च्यापिएर मृत्यु भएको जनाइएको छ । ट्रकमै सवार सुदिप प्रजा घाईते भएको छ । चालक भने सकुशल रहेका छन । अर्को एक भारतीय महिलाको पनि पहिरोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।
उक्त पहिरोले पुरिदा ५ वटा सवारी साधनमा समेत क्षती पुगेको छ । बोलेरो २ वटा, १० चक्के गाडी १ वटा, टिप्पर र इण्डियन टेलर एक/एक वटा पहिरोमा परेका हुन ।अहिले सडक अवरुद्ध छ । पहिरो हटाउने काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।