
भारतको उत्तराखण्ड प्रदेशको २१औं मुख्यमन्त्रीमा पुष्कर सिंह धामी नियुक्त भएका छन। भारतिय जनता पार्टीको संसदिय दलको बैठकले ४५ बर्षिय धामीलाई मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको हो । उनले आइतबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
संसदिय दलको नेता चयन भएपछि धामीले पार्टीले सामान्य कार्यकर्तालाई सेवाको अवसर दिएको र जनताका अधिकारलाई पुरा गर्नको लागी सबैको सहयोग लिएर काम गर्ने प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री तीर्थसिंह रावतले शुक्रवार राज्यपाल बेबी रानी मौर्यसमक्ष राजीनामा दिएका थिए । संविधानअनुसार रावतले ६ महिनाभित्र संसदको सदस्य भइसक्नुपर्ने थियो । तर, निर्वाचन आयोगले कोरोना भाइरसको महामारीलाई ध्यान दिंदै उपनिर्वाचनको लागी अनुमति नदिएपछि उनी संसदको सदस्य बन्नबाट वंचित भएका थिए ।
रातवले विवादित बयान दिएको भन्दै उनको आलोचना समेत हुने गरेको थियो । नवनियुक्त मुख्यमन्त्री धामी उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवंम् महाराष्ट्रका गर्भनर भगतसिंह कोश्यारी निकट मानिन्छन् । धामीसंग अहिलेसम्म सरकार चलाएको कुनै अनुभव भने छैन । उनि कोश्यारी मुख्यमन्त्री हुंदा उनको ओएसडी समेत बनेका थिए । यसअघि मुख्यमन्त्री त्रिवेन्द्र रावतले राजीनामा दिएपछि तीर्थसिंह रावत मुख्यमन्त्री बनेका थिए ।
उत्तराखण्डमा २१ वर्षमा ११ जना मुख्यमन्त्री बनेका छन् । धामीको जन्म पिथौरागढको मनालीछीनामा भएको थियो । उनका बुवा भारतिय सेनामा सूबेदार थिए । उनको कर्मभूमि भने खटिमा हो । उनले खटिमामा पहिलो पटक कांग्रेसका देवेन्द्र चन्दलाई ५ हजार भोटले पराजित गरेका थिए भने दोस्रो पटक निर्वाचित हुंदा कांग्रेसकै भुवन चन्द्र कापडीलाई तीन हजार मतको अन्तरले चुनाव हराएका थिए ।