
राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव भेटिएपछि आज दिनभर नगरपालिका स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रह्यो ।
हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराए ।
स्थानीय र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला बीच भएको वार्तापछि दुई बुँदे सहमति भएको छ । मृतकको शव पोस्टमाटम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने सहमति भएको छ । सहमतिपछि अहिले राजमार्ग सञ्चालनमा आएको छ ।
स्थानीयले बिहान ९ बजेदेखि ४ बजेसम्म राजमार्ग अवरुद्ध गराएका थिए ।
जंगलमा मृत अवस्थामा फेला परेकी २३ वर्षीया सुजिता भण्डारीको शव उठाएर पोष्टमाटमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले शवलाई रोकेका थिए ।
दिउँसो राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको थियो । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका थिए ।
स्थानीयहरुले राजमार्ग लामो समयसम्म अवरुद्ध गराएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सो क्षेत्र पुगेका थिए । प्रजिअ लामिछाने, चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ९एसपी० ओम अधिकारी र राप्ती नगरपालिकाकी प्रमुख ९मेयर० प्रभा बरालसहितको टोलीले अहिले स्थानीयसँग वार्ता गरेको हो ।
सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।