
इंग्ल्याण्डले अतिरिक्त समयमा डेनमार्कलाई २–१ ले हराउँदै ५५ वर्षमा पहिलोपटक कुनै ठूलो स्तरको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
निर्धारित समयमा १–१ ले बराबरी भएको खेलमा ह्यारी केनले पेनाल्टी प्रहार गर्दा फर्किएको बलमा गोल गर्दै इंग्ल्याण्डको जित निश्चित हुन पुगेको थियो।
त्यसपछि उक्त टोलीका समर्थकहरू खुशीयाली मनाउँदै सडकमा उत्रिएका थिए। तर गत दुई सातामा इंग्ल्याण्डका पुरुषहरूमा महिलाभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण देखिनुको कारण युरो २०२० फुटबल प्रतियोगिता हेर्नु रहेको हुनसक्ने इम्परियल कलेज लन्डनको तथ्याङ्कले देखाएको छ।
४७,००० भन्दा बढी स्वयंसेवकमा जुन २४ देखि जुलाई ५ सम्म गरिएको परीक्षणले “सङ्क्रमणको तेस्रो लहर“ पुष्टि भएको बताइएको छ।
अध्ययनले महिलाभन्दा पुरुष ३० प्रतिशत बढी सङ्क्रमणको जोखिममा रहेको देखिएको छ। तर सङ्क्रमित धेरै अस्पताल जानु पर्ने
वा मृत्यु हुने अवस्थामा भने नरहेको सो अध्ययनले देखाएको छ। र खोप लगाएका महिला र पुरुषहरू अरूभन्दा निकै कम जोखिममा रहेको
देखिएको छ।
“फुटबल हेर्ने गर्दा पुरुषहरू अन्य समयमा भन्दा बढी सामाजिक गतिविधिमा संलग्न रहेको हुनसक्छ,“ अध्ययनका लेखक प्राध्यापक स्टीभन
राइलीले भने।
अध्ययनको नतिजा इङ्गल्यान्डको आधिकारिक सरकारी तथ्याङ्कसँग मिल्दोजुल्दो रहेको छ । “हामी केही विरोधाभासपूर्ण प्रक्रिया भएको महत्त्वपूर्ण समयावधिमा छौँ,“ अध्ययनमा भनिएको छ।
जुलाई १९ मा इंग्ल्याण्डमा कोभिड प्रतिबन्धहरू हट्ने छन्। त्यसपछि भवनभित्र मास्क अनिवार्य नहुने र ठूलो भिडभाड हुने गरी कार्यक्रम गर्न पाइने छ।
अध्ययनकर्ताहरूले यी सबै कारणले गर्दा भविष्यमा सङ्क्रमणको गति कस्तो होला भनेर भन्न नसकिने बताएका छन्। इंग्ल्याण्डमा ६४ प्रतिशत
वयस्क मानिसहरूले खोपको दुवै मात्रा लगाइसकेका छन्।
इंग्ल्याण्ड गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता इंग्ल्याण्ड कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गर्न सकेको थिएन ।