
स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरसको अब आउन सक्ने तेस्रो लहरको गम्भीरता पूर्वक पूर्व तयारीमा रहन निर्देशन दिनुभएको छ ।
आज वीर अस्पतालमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्नुहुँदै मन्त्री श्रेष्ठले कोभिड अस्पतालको रुपमा रहेको वीर अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।
त्यस अवसरमा मन्त्री श्रेष्ठलाई स्वास्थ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
अस्पतालले हाल सय बेडको आइसियु सञ्चालन गरिरहेको र बाँकी सय बेड आइसियु सहितको बेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सचिव अर्यालले मन्त्रालयले तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्माले भोलि अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेकोमा आज मन्त्री श्रेष्ठ निरीक्षण गर्न पुग्नुभएको हो ।