
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा कालो ब्यानर राखेका छन्।
सोमबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा स्ववियू निर्वाचन कहिले ? लेखिएको ब्यानर टाँगेको छ । स्ववियू निर्वाचन अनिश्चित भएपछि नेविसंघले सोमबार उपकुलपतिकै कार्यकक्षमा ब्यानर टाँगेको हो ।
फागुन १४ गतेका लागि घोषणा गरिएको स्ववियू निर्वाचन अन्तिम समयमा आएर विश्वविद्यालयले स्थगन गरेको थियो । तत्काल स्ववियू निर्वाचन सुनिश्चितताको माग गर्दै ब्यानर टाँगिएको विश्वविद्यालयका नेविसंघका इकाई अध्यक्ष हरि आचार्यले जानकारी दिए ।
“स्ववियू संस्थालाई गर्न खोजेको के हो ? प्रश्न गर्ने संस्थाहरुलाई समाप्त गर्ने हो भने विश्वविद्यालयको स्वायत्तता खोसिँदा कसले बोल्छ,” उनले भने, “नयाँ शिक्षा ऐनमा क्याम्पसहरुले पाउने सम्बन्धन मन्त्रिपरिषद्ले दिने भन्ने प्रस्ताव गरिएको छ । स्ववियू हुन्थ्यो भने विश्वविद्यालयमाथि यसरी गरिएको ठाडो हस्तक्षेपको विरोध भइसकेको हुन्थ्यो ।”
विश्वविद्यालयले आफ्नो स्वायत्तततामाथिको प्रहारमा समेत बोल्न नसकेको भन्दै विश्वविद्यालयका पदाधिकारकिो योग्यतामा समेत नेविसंघले प्रश्न उठाएको छ ।