
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका छन् ।
पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन् । उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको रावलले बताएका हुन् ।
रावलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको बताएका छन् ।
रावलले भनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ ।’ एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।
माधव नेपाल समूहका नेता रावलको ओलीसँग निकटता बढेको र उनले पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै टिप्पणी भइरहेका छन् । तर उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार प्रकाशित गरिएको बताएका छन् ।
रावलले विज्ञप्तिमा भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’
रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् । तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै सांकेतिक रूपमा खुलाएका छन् ।
एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको बताए ।
माधव नेपाल निवासमै बसिरहेका बेला विष्णु पौडेलको फोन आएको र रघु पन्तसहित बालुवाटार आउँछु भन्दा एक्लै आउन भनिएपछि एक्लै गएर पार्टी एकताको लागि कार्यदल सक्रिय गराउन ओलीलाई आग्रह गरेको बताएका छन् ।

